पोखरा — यती एयरलाइन्सको जहाज दुर्घटनामा ज्यान गुमाएका मृतकको शव आफन्तले बुझ्न सुरु गरेका छन् । सोमबार साँझ पोस्टमार्टम सुरु भएसँगै आफन्तले शव बुझेका हुन् । सोमबार साँझ पोखरा–१३ मियाँपाटनका सदाकत अली मियाँको शव परिवारले बुझेका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख अजय केसीका अनुसार हालसम्म ७० जनाको शव फेला परेको छ । दुईजना अझै बेपत्ता छन् । ती शवलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पोस्टमार्टम वार्डमा राखिएको छ । तीमध्ये २१ जनाको पोखरामै पोस्टमार्टम हुने छ । बाँकी ४९ शव मंगलबार सेनाको हेलिकप्टरमा काठमाडौं लैजान सुरु गरिने छ । ‘पहिला २४ जनाको यहीँ पोस्टमार्टम गर्ने भन्ने थियो,’ उनले भने, ‘तर एउटा परिवारको ४ मध्ये दुई र अर्कोको ३ मध्ये २ को पहिचान नहुँदा काठमाडौं लैजानुपर्ने भएकोले पहिचान भएको पनि काठमाडौं नै लैजान्छौं भन्नुभयो ।’
मंगलबार दिनभरिमा विदेशी नागरिक, क्रु मेम्बर र पहिचान नभएका शवलाई काठमाडौं लैजाने उनले बताए । उनका अनुसार सोमबार रातिबाट स्थगित भएको बेपत्ता यात्रुको खोजी कार्य मंगलबार बिहानबाट पुनः सुरु हुने छ । दुर्घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोली उद्धारमा खटिएको छ ।
आइतबार बिहान १०:३२ बजे त्रिभुवन विमानस्थलबाट पोखराका लागि उडेको यती एयरलाइन्सको कल साइन नाइनएन एएनसी फ्लाइट नम्बर ६९१ एटीआर-७२ जहाज करिब ११ बजेको आसपासमा पोखरा विमानस्थलबाट २ किलोमिटरको नजिकमा सेती नदीको खोंचमा दुर्घटनाग्रस्त भएको थियो । ७२ जना सवार विमानमा अहिलेसम्म ७० जनाको शव भेटिएको छ भने २ जनाको खोजी कार्य जारी रहेको छ।