Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wordpress-seo domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/navaawaaj.com.np/public_html/wp-includes/functions.php on line 6114
नाटक ‘देउराली डाँडी’ : महिलाले धानेको एउटा गाउँको कथा - Nava Awaaj

नाटक ‘देउराली डाँडी’ : महिलाले धानेको एउटा गाउँको कथा

खेत बाँझै छन् । उजाड गाउँमा पानीको मुहान सुक्दै जान्छ । परदेसिएकाहरू वर्षौंसम्म नफर्केपछि कुरिबसेकाहरूको अवस्था महिला पात्रमा देखिन्छ ।

काठमाडौँ — गाउँ आफ्नै रफ्तारमा चलिरहेको छ । उकाली, ओराली र देउरालीहरूमा सुखदुःखले गाउँलाई चलाउने जिम्मेवारी महिलाले बहन गरिरहेका छन् । पुरुषजति परदेश छन् । कोही श्रीमान्लाई पर्खिरहेका छन्, कोही छोरालाई । कथा, व्यथा उस्तै लाग्ने यो सबै नेपालीको साझा समस्या जस्तो ठ्याक्कै देखिए पनि प्रस्तुत परिवेश भने नाटक ‘देउराली डाँडी’को हो ।

रंगकर्मी सहलेशको लेखन तथा अमेरिकी रंगकर्मी रोज स्वाइट्जको निर्देशन रहेको नाटकमा गरिबीले थिचिएको एउटा गाउँको परिवेशमा महामारीले भित्र्याएको पीडादायी अवस्था देख्न सकिन्छ । जहाँ पुरुषविहीन गाउँमा महिला नै हरेक कार्यको अग्रपंक्तिमा उभिएका छन् । महामारीले निर्जन र शून्य बनाएको गाउँमा पुनः त्यही महामारी दोहोरिएपछि त्यसबाट उम्किन तिनै महिलाले देखाएको साहस र भोलिका लागि उनीहरुले राखेको आशा नाटकमा देख्न सकिन्छ । उनीहरूले गरेको संघर्षसँगै अन्तिम चरणमा महिलाले घाटु नाचको कथा, देवीहरूको शक्तिमा गाउँको पुरानो जीवनशैली र अस्तित्वलाई रक्षा गरेको मूल सार नै नाटकको कथा हो ।

महामारीलाई नाटकले सांस्कृतिक पाटोलाई जोड्दै निकै विम्बात्मक रूपमा बुझाउने प्रयास गरेको छ । जसमा बालुवा मुख्य विम्बका रूपमा प्रयुक्त गरिएको छ । गाउँको महामारीका कारण सारा पुरुषहरू परदेश गएका हुन्छन् । त्यही महामारी पुनः फर्किएर महिलाहरूमा देखा पर्छ । माइली हुँदै क्रमशः गाउँका अन्य महिलाहरु खोक्दा मुखबाट बालुवा निस्कन्छ । अन्त्यमा महिलाहरुको शरीर, लुगा जताजतै बालुवा नै बालुवा यत्रतत्र छरिन्छ । अनि सुरु हुन्छ, गाउँमा महिलाहरूको संघर्ष र साहसको कथा । जसले रोजगारीका निम्ति विदेसिन बाध्य हजारौँ नेपाली र शून्य बन्दै गएको गाउँबस्तीलाई प्रतिकात्मक रूपमा प्रस्तुत गरेको छ ।

त्यसैमा देखिएको घाटु नाचको दृश्य, राजा पश्रामु, रानी यम्बावतीको कथा प्रसंगले ‘देउराली डाँडी गाउँ’ले गुरुङ समुदायसँगै सिंगो मुलुकको अवस्थालाई इंगित गर्दछ । युद्धमा राजाको मृत्यु हुनु र रानी सती गएको प्रसंगलाई समेत नाटकले उठान गरेको छ । गुरुङ समुदायमा प्रचलित घाटु नाच, पश्रामु र यम्बावतीको मिथकलाई जोडेर समकालीन समयलाई सान्दर्भिक रूपमा सशक्त विम्बमा उतार्नु नै नाटकको सबल पक्ष मान्न सकिन्छ । जहाँ घाटु नाचको प्रचलित कथाअनुसार राजा मरेपछि काखे छोरालाई च्यापेर सती जान बाध्य भएकी रानीको पीडालाई भन्दा पनि महामारीले ग्रस्त गाउँको पीडालाई नाटकले मूल विषयमा रूपमा केन्द्रित गरेको छ ।