हाम्रो सत्ता परम्पराको इतिहास विचित्रको छ। सत्तारूढ दल स्वयं सरकारको ‘भिलेन’ बन्दै आएको इतिहास छ।
त्रिशंकु संसद्मा प्रधानमन्त्री पुष्पकमल दाहाललाई आवश्यकताभन्दा बढी ‘विश्वासको मत’ प्राप्त भयो। अर्थात् प्रचण्डलाई ‘प्रचण्ड बहुमत’ मिल्यो। प्रचण्ड बहुमतको बाढी यति भयानक भयो कि संसद्को प्रमुख प्रतिपक्षलाई नै बढारेर लग्यो। संवैधानिक रूपमा प्रतिनिधिसभा प्रतिपक्षी बेन्चविहीन बन्न पुगेको छ। त्यसै पनि उहाँ चामत्कारिक रूपमा प्रधानमन्त्री बन्नु भयो। एउटा गठबन्धनमा भावी प्रधानमन्त्रीको उम्मेद राखेर चुनाव लडे। उनी प्रधानमन्त्री त्यो उम्मेदमा पानी फेरिएपछि तिलस्मी ढंगले अर्कै गठबन्धनबाट बनेका हुन्। चमत्कार कस्तो भने निमेषभर मै ‘परमादेश मित्र’ विश्वासघाती धोखेबाजमा रूपान्तरित भए। ‘घोर प्रतिगामी दुश्मन’ करार गरिएका चाहिँ सत्ता गलियाराका मित्र जसले सत्ता–सिंहासनमा विराजमान गराए।
केपी ओली र पुष्पकमल दाहालले बालकोट बार्दलीबाट सत्ता सहयात्राको उद्घोष गर्दा राष्ट्रिय राजनीतिमा विविध रंगका तरंग र लहर उत्पन्न भएकै हुन्। देशको सबैभन्दा ठूलो र पुरानो दल नेपाली कांग्रेस समग्र गुमाएको अवस्थामा पुग्यो। अर्थात् माओवादी अध्यक्ष प्रचण्डको एकै झट्काले कांग्रेसको हकमा सोम शर्मा र सातुको कथा चरितार्थ भयो। कांग्रेसमा सत्ताको भरपुर तयारी हुँदै गर्दा हठात् ओलीको बाहुपासमा लट्ठिएर बालकोट बार्दलीमा अप्रत्याशित घटनाले नयाँ मोड लियो। यो अवस्था कति पीडादायी हुन्छ होला ? कांग्रेसका अलावा प्रत्येक भुक्तभोगीलाई राम्ररी थाहा छ। थाहा छैन भन्नु वा कसैले कसैलाई विश्वास गर्नु मानवीय स्वभाव वा हुस्सुपन होला।
के नेपाली राजनीतिमा विश्वास, आदर्श र नैतिकताको मानक यही र यस्तै हो ? यी प्रश्नको उत्तर प्रधानमन्त्री प्रचण्ड र कांग्रेसका शेरबहादुर र रामचन्द्र पौडेलसँग मात्र छ अहिले पनि। दुईतिहाइ नजिकको सत्ताबाट केपी ओलीको परमादेश बहिर्गमनपश्चात्का प्राधिकारी नै यी तीन महाओली थिए। त्यस्तै, पुस २६ गते नेपालका ४४औं प्रधानमन्त्रीलाई संसद्मा विश्वासको मत हासिल हुनु अघिसम्म यी प्रश्न जति मात्रामा सघन र रहस्यमयी थिए, अहिले थोरै संशयी र फिका भएका छन्। के यसो हुनाका कारण माओवादी केन्द्रका अध्यक्ष तथा एमाले नेतृत्वको गठबन्धनका प्रधानमन्त्री दाहालप्रति शेर–रामको अपनत्व र स्वामित्व नै हो ?
प्रश्न फेरि पनि उही र उस्तै। कांग्रेस सत्ता सुखसयलको तयारीमा जुटेकै बेला चमत्कार भएकै हो। पुसको ठण्डी, त्यसमा पनि मध्यरात। यस्तोबेला अकस्मात महलको मखमली बिछ्यौनाबाट सडकमा पछारिन पुगेकै हो, कांग्रेस। तर मध्यरातमा चिसो सडकमा पुर्याउने बालकोटका ओली थिएनन्। बालकोटले यसो गथ्र्यो भने उसको कर्तव्य र धर्म दुवै हुन्थ्यो, स्वाभाविक पनि मानिन्थ्यो। सायद आफूलाई प्राप्त जनादेशको हैसियत सम्झिएर ऊ यस्तो सोचबाट निर्देशित नभएको होस्। तर मुखमा आएको सत्ताको लहलहाउँदो पहेंलपुर तोरीबारीलाई निमेषमै उजाड तुल्याइदिने पात्र अरू कोही नभएर उनै प्रचण्ड थिए।
भनिन्छ, देउवा–दाहाल ‘गोप्य सम्झौता उल्लंघन’को परिणाम हो–कांग्रेसको सडकबास। अर्थात् तत्कालका लागि कांग्रेसलाई ‘हस्तिनापुरको राजबाट सडकबास’मा पुर्याउने उनै प्रचण्ड हुन्। जसले ओलीसँग विद्रोह गरेर संबैधानिक हैसियत बेगरको कांग्रेसलाई सत्ताको रथ आरोहण गराएर आफू सो रथका सारथि बनेका थिए। स्थायित्व र स्थिरताको लिकमा सत्ता चल्दा पाँच वर्षसम्म ढुक्क हुनुले सडकबास मै रहनुपर्ने अवस्थाको हो कांग्रेस। तर दधिचि ऋषि शैलीमा कांग्रेसले आफूलाई सडकमा पछारेर सत्ताको सिंहासन हडपेका दाहाललाई विश्वासको मत दियो, अनपेक्षित ढंगबाट।