चुरे विनाश भयो। सकिनै लाग्यो। बर्बादै भयो भनिरहनुहुन्छ। किन सधैं चुरे–चुरे भनिरहनुभएको हो ?
मैले जीवनको आठ दशक बिताइसकेँ। सात दशकमा देखेका सारा कुरा मलाई याद छ। बचपनमा मैले देखेकोे तराई स्वर्ग थियो। चुरियाको फेदमा चारकोसेझाँडी फैलिएको थियो। जल, जमिन र जंगलले तराई भरिपूर्ण थियो। तर, अहिले चुरे दोहनले तराई ध्वस्त भइरहेको छ।
तराई अरबको मुरुभूमिजस्तो भयो भने त्यसको गर्मी (राप) ले हाम्रो हिमालको सारा बरफ (हिँउ) पग्लिएर जान्छ। अनि, हाम्रो मानव सभ्याता के हुन्छ ? यो ज्ञान न जनप्रतिनिधिमा देख्छु, न यसमा विद्वान्को कलम बोल्छ। न त मिडियाले अभियानकै रूपमा लेख्छन्। यसमा बोल्दै गएपछि, लेख्दै गएपछि एक दिन हाम्रो सन्ततिले पक्कै बुझ्छन् भनेर चुरे र पर्यावरण संरक्षरणको अभियान म राष्ट्रपति भएदेखि उठाएको थिएँ।
यस विषयप्रति लगाब बढ्नुमा कुनै कारण छ कि ?
स्कुलदेखि नै मलाई भूगोल र पर्यावरणमा धेरै रुचि थियो। अपनत्व पनि। पछाडि प्लान्ट साइन्स पढेँ। अनि देशको भूबनोट बुझेँ। म तराईमा जन्मेको मान्छे। जनकपुर र काठमाडौंमा पढेँ। कलकत्ता र चण्डीगढमा उच्चतहको शिक्षा लिएँ। विद्यार्थी, मेडिसिनको डाक्टर हुँदै राजनीतिमा आएँ। राजनीतिक भूमिकामा देश घुम्ने मौका पाएँ।
भूगोल, माटो, पर्यावरणबारे नजिकबाट जान्ने मौका पाएँ। हिमाल, महाभारत, चुरे र समथरभूमिको एक अर्कासँग सम्बन्ध जोडिएको छ। यी सबै परनिर्भर छन्। एउटा बाँच्यो भने अर्को बाँच्छ। हामी मनुष्य भएर जन्मिएका छौं। संसारका सर्वश्रेष्ठ प्राणी हौं। हाम्रो दिमागले आकाशदेखि पत्तालसम्मलाई बुझेको छ। तर, दुनियाँ यति लोभी भयो। पर्यावरणलाई बचाएर कसरी उपभोग गर्नेभन्दा पनि मास्नेतिर जोड गर्छ। यसले संसारभरि चिन्ता बढेको छ।