धेरैजसो व्यक्तिले फ्लुको लक्षण देखिनुभन्दा एक दिनअघिदेखि लक्षण देखिएको ५-७ दिनसम्म अर्को व्यक्तिमा संक्रमण सार्न सक्छन्, फ्लु संक्रमितहरू स्वस्थ नभइन्जेलसम्म उनीहरूको निकट सम्पर्कबाट जोगिनु नै बुद्धिमानी हुन्छ
काठमाडौँ — चिसो मौसम सुरु हुनासाथ ‘फ्लु’ अर्थात् ‘इन्फ्लुएन्जा’ले नसताउने विरलै होलान् । बोलीचालीको भाषामा ‘मौसमी रुघाखोकी’ भनिने इन्फ्लुएन्जामा खोकी लाग्ने, घाँटी दुख्ने, ज्वरो आउने, नाकबाट पानी बग्ने/बन्द हुने, थकाइ, जीउ दुख्नेलगायत विभिन्न लक्षण देखिन्छन् ।
केही व्यक्तिमा वाकवाकी, बान्ता, पखाला, घाँटीमा खसखस लाग्ने पनि हुन्छ । अधिकांशमा ‘फ्लु’ को लक्षण एकदेखि दुई साता रहन्छ तर घरमा बसेर सामान्य स्वास्थ्य स्याहार गरे स्वस्थ हुन समय लाग्दैन ।
‘इन्फ्लुएन्जा’ ले गर्दा श्वासप्रश्वास प्रणालीमा संक्रमण हुने भएकाले पीडितलाई भाइरल वा ब्याक्टेरियल निमोनिया (फोक्सोको संक्रमण) सँगै अन्य संक्रमणको खतरासमेत हुन्छ । फ्लुबाट कुल संक्रमितको ०.१ प्रतिशतको मात्र मृत्यु हुन सक्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) अन्तर्गत इपिडिमियोलोजी तथा महामारी व्यवस्थापन शाखाका प्रमुख डा.अभियान गौतम बताउँछन् । ‘०.१ प्रतिशत एकदम न्यून लागे पनि वास्तवमा फ्लुको संक्रमण परालको आगोझैं अत्यधिक मात्रा र संख्यामा फैलिन्छ,’ उनले भने, ‘हजार जनामा संक्रमण भयो भने एक जनाको मृत्यु हुन सक्ने सम्भावना हुन्छ । एक लाख जना संक्रमित भए सय जनाको ज्यान गुम्ने खतरा हुन्छ ।’
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार विश्वभरमा यो महामारीबाट ३० देखि ५० लाख गम्भीर बिरामी हुन्छन् भने २ लाख ९० हजारदेखि ६ लाख ५० हजारको श्वासप्रश्वाससम्बन्धी कारणले मृत्यु हुने गरेको छ । नेपालमा बर्सेनि फ्लुले प्रभावित र मृत्यु हुनेहरूको आधिकारिक तथ्यांक उपलब्ध छैन ।
मौसमी इन्फ्लुएन्जा तीव्र श्वासप्रश्वाससम्बन्धी संक्रमण हो । अन्य भाइरल संक्रमणको दाँजोमा फ्लु संक्रमण भएकाहरू बढी गम्भीर रूपले बिरामी हुन्छन् । श्वासप्रश्वास र मुख, नाक आदिबाट निस्किने भाइरस एकबाट अर्को व्यक्तिमा सर्ने भएकाले यसको विस्तारको गति धेरै तीव्र हुन्छ । अझ शरीरमा संक्रमणको कुनै लक्षण नदेखिने समयदेखि नै संक्रमितले अर्को स्वस्थ व्यक्तिलाई फ्लु सार्न सक्छ ।