काठमाडौँ । नेकपा एमालेनिकट राष्ट्रिय युवा सङ्घको नवौँ राष्ट्रिय महाधिवेशन आगामी बैठकले आगामी चैत २७ देखि २९ गतेसम्म बाँकेको नेपालगञ्जमा हुने भएको छ । युवा सङ्घको पदाधिकारी बैठकले महाधिवेशनको तयारीका लागि केन्द्रीय बैठक आगामी माघ १९ र २० गते बोलाईएको अध्यक्ष किरण पौडेलले जानकारी दिए।महाधिवेशनका लागि आगामी फागुन महिनाभित्र जिल्ला, पालिका र वडास्तरको अधिवेशन गर्ने निर्णय गरेको सङ्घका अध्यक्ष पौडेलले बताए । महाधिवेशनका लागि अध्यक्ष पौडेलको संयोजकत्वमा महाविधेशन मूल व्यवस्थापन समिति गठन गरिएको छ । बैठकले पार्टी र सङ्घको हित विपरीत काम गर्ने पाँच जनालाई निष्काशन गरेको छ ।
यसअघि युवा सङ्घको आठौँ राष्ट्रिय महाविधेशन विसं २०६९ मा बुटवलमा भएको थियो ।त्यही सहमतिको आधारमा पार्टीले युवा सङ्घको केन्द्रीय कमिटी बनाउँदै आएको थियो । बुटवलमा भएको महाधिवेशनमा महेश बस्नेत अध्यक्षमा निर्वाचित भएका थिए । त्यसपछि सहमतिको आधारमा निरु पाल, राजिव पहारी, रमेश पौडेल र बचनबहादुर सिंह युवा सङ्घको अध्यक्ष भए ।