काठमाडौं। रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएको छ। आइतबार बसेको केन्द्रीय समिति र संसदीय दलको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा सभापति रवि लामिछानेले जानकारी दिए ।
सरकारबाट बाहिरिने निर्णय गरेको भए पनि रास्वपाले सरकारलाई दिएको समर्थन भने कायम राख्ने निर्णय गरेको छ। रास्वपासहितको समर्थनमा गत १० पुसमा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार गठन भएको थियो। प्रचण्ड नेतृत्वको सरकार गठनमा अहम्भूमिका निर्वाह गरेको रास्वपा अन्ततः सरकारबाट बाहिरिएको हो।
नेपाली नागरिकता प्रमाणपत्र अवैध ठहर भएसँगै लामिछाने सांसद, उपप्रधान तथा गृहमन्त्रीसहितका पद गुमाएका थिए। १३ माघमा सर्वोच्च अदालतको संवैधानिक इजलासले उनले प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्दा बुझाएको नेपाली नागरिकता प्रमाणपत्र अवैध रहेको ठहर गरेको हो।