काठमाडौँ — संसारमा ‘साथी’ नहुने मानिस विरलै पाइएला । बालबालिका, युवा तन्नेरी, प्रौढ हुन् वा ढल्कँदो उमेरका, सबैजसो मानिसका ‘साथी’ हुन्छन् । कसैलाई दुःख पर्यो, पीडा सहन गाह्रो भो, मन अतालियो, जीवनको पाइला रोकिनै लाग्यो भने त झन् साथीको साथ अझै प्रिय हुन्छ र जीवनको गति नै परिवर्तनशील भइदिन्छ ।
अत्याधुनिक प्रविधिको युगमा युवा पुस्ता परिवार, समाज र भीडमा पनि एक्लो बन्दै छन् । उनीहरूको आफ्नो कुरा सुनिदिने मान्छे छैनन् । परिवार, शिक्षा, रोजगारी, जिम्मेवारीको नाममा उनीहरू एक्लाएक्लै बिरक्तिरहेका छन् । त्यही एक्लोपनाले नै उनीहरू आफैंलाई समाप्त गर्ने क्रम विकराल बन्दै गएको छ । यही विकराल माहोलमा रंगकर्मी आशान्त शर्मा सबैको ‘साथी’ बनेर अहिले रंगमञ्चमा उभिएका छन् ।
रंगकर्मी शर्माले एक्लो बनिरहेको युवा पुस्ता, त्यसैमा उब्जिरहेको मानसिक समस्या र आफैंले जीवन समाप्त पार्ने आत्महत्याजस्ता कारक विषयलाई उठान गर्दै नाटकमार्फत नै साथी बनेर समाधानको उपाय खोजेका छन् । उनकै लेखन तथा निर्देशनमा पुस २८ गतेदेखि टेकुस्थित कौसी थिएटरमा मञ्चन सुरु गरिएको नाटक ‘साथी, साथी आइदेऊ न !’ मा शर्मा साथीकै भूमिकामा देखिएका छन् । नाटकमा सामाजिक, पारिवारिक, आर्थिक तथा मानसिक कारणले विक्षिप्त बनेकी एक युवती अस्मिताको कथा छ । उनको मानसिक अवस्थालाई घर, परिवार, साथीभाइ कसैले बुझ्ने कोसिस गर्दैनन् । उनको अन्तिम अवस्थामा मनको पीडालाई बुझ्ने साथीको प्रवेश भएपछि उनमा आउने परिवर्तनलाई नै नाटकमा मुख्य विषयका रूपमा केन्द्रित गरिएको छ ।
युवापुस्ताले घर परिवारप्रति राख्ने माग, गरिने जिद्दीपना, साथीभाइबीच हुने प्रतिस्पर्धी भावना, ख्यालठट्टा, प्रेमसम्बन्धका कुरालाई जोड्दै नाटकको कथा अगाडि बढेको छ । यसैमा जोडिएको परिवारमा अभिभावकले सन्तानका लागि गर्ने संघर्ष, अभिभावक र सन्तानबीच चल्ने आन्तरिक द्वन्द्व र असमझदारीले कसरी युवापुस्ताले गलत बाटो अपनाइरहेका छन् भन्ने विषयलाई नाटकले मूल रूपमा उठान गरी अन्तिम बिन्दुमा समाधानको उपायसमेत बताइदिएको छ ।
मानसिक समस्या त्यसमाथि आत्महत्या जस्तो संवेदशील विषयलाई नाटककै रूपमा बुझाउन शर्माले रंगमञ्चको क्लाउन (जोकर) विधालाई प्रयोग गरेका छन् । नाट्य क्षेत्रमा भने अभिनय, शरीरको हाउभाउ, पहिरनजस्ता पक्षबाट दर्शकलाई हास्यरस र मनोरञ्जन प्रदान गर्ने विधा नै क्लाउन हो । संवेदनशील विषयलाई उठान गरिएको हुनाले नाटकभित्र जे–जति दृश्यहरू समावेश छन्, ती सबै नाटक नै हुन् भन्ने दर्शकमा महसुस गराउन उनले यस विधालाई रोजेका हुन् ।