काठमाडौँ — सोमबार सेयर बजारको परिसूचक नेप्सेले २२ सय नाघेर ओर्लिएको छ । कारोबार खुलेको ३८ मिनेटमै (११ : ३८ बजे) परिसूचक २२०२ अंकसम्म पुगेको थियो । लगत्तै सेयर बिक्रीमा चाप परेपछि कारोबार बन्द हुँदासम्म नेप्से ओर्लियो ।
अन्ततः नेप्से १३.७१ अंकले घटेर २१६५ मा बन्द भयो । कुल ३ अर्ब ८६ करोड रुपैयाँको कारोबार भयो । ४१ कम्पनीको मूल्य बढ्दा १६६ को घट्यो भने ३ को स्थिर रहृयो । बैंकिङ उपसमूह १५ अंक बढ्यो, अरु सबैजसो उपसमूह ओर्लिएका छन् । विकास बैंक ९१, फाइनान्स ७, होटल तथा पर्यटन ७९, जलविद्युत् ६५, जीवन बीमा ८७, उत्पादन ७२, माइक्रोफाइनान्स ४१, निर्जीवन बीमा १२३, अन्य २३ र व्यापार उपसमूह २ अंक घटे ।
दुई वाणिज्य बैंकसहित ५ कम्पनीको मूल्य भने १० प्रतिशत बढ्यो । कुमारी र स्टान्डर्ड चार्टर्ड बैंक, आदर्श लघुवित्त, सानिमा जनरल इन्स्योरेन्स र समृद्धि फाइनान्सको मूल्य १० प्रतिशत बढ्यो । कारोबार रकमका आधारमा कुमारी बैंक, एनआईसी एसिया बैंक, रिडी पावर, अपी पावर र एभरेस्ट बैंक क्रमशः अगाडि रहे ।