काठमाडौं । त्रिभुवन विश्वविद्यालयका सबै क्याम्पसहरुको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मुखमा एमाले निकट अनेरास्ववियुले त्रिचन्द्र क्याम्पसमा तालाबन्दी गरेको छ । विद्यार्थीको भर्नाको विषयलाई लिएर अनेरास्ववियुले क्याम्पस तालाबन्दी गरेको हो । त्रिचन्द्र क्याम्पसमा नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघले स्ववियु जित्दै आएको हुँदा निहु खोज्न मात्र तालाबन्दी गरेको एक विद्यार्थी नेताले बताए ।
अनेरास्ववियुले निर्वाचन भाँड्ने षड्यन्त्र अनुसार तालाबन्दी गरेको नेविसंघको आरोप छ । निर्वाचन प्रक्रिया अनुसार १२ फागुनमा प्रत्यक्ष तथा समानुपातिक तर्फका उम्मेदवारको मनोनयनपत्र वितरण गरिने, १४ गते उम्मेदवारले मनोनयनपत्र दर्ता गराउने र १५ गते उम्मेदवारको अन्तिम नामावाली प्रकाशन गर्ने तथा १८ फागुनमा मतदान हुनेछ ।
निर्वाचन देशभरिका त्रिविमा ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा निर्वाचन हुँदैछ । त्रिविमा स्ववियु निर्वाचन विसं २०१८र१९ देखि प्रत्यक्ष प्रणालीमा हुँदै आएको थियो । २०३० सालसम्म प्रत्येक वर्ष स्ववियु निर्वाचन हुँदै आएकामा विसं २०३६ देखि प्रत्येक दुई–दुई वर्षमा निर्वाचन हुँदै आएको थियो ।