काठमाडौं — काभ्रे नगरकोट घर भई हाल काठमाडौंमा बस्दै आएका पूर्णिमा तामाङको परिवारले यो वर्ष सोनाम ल्होछार पर्व परिवार र आफन्तजनका साथ निकै रौनकका साथ मनाए । बिहानै ढल्कुस्थित दिदीको घरमा भेला भई सबैले दिदीको हातबाट टीका र आशिर्वाद ग्रहणपछि खानपिन गरी दिनभरि सबै जनाले टुँडिखेलमा नाचगानसहित निकै रमाइलो गरे ।
उनका अनुसार विगतका दुई वर्ष कोरोना महामारीका कारण सबैले आ-आफ्नो घरमा सामान्य रुपमा ल्होछार पर्व मनाएका थिए । ‘दुई वर्ष त रोगको महामारीले ल्होछार खासै राम्ररी मनाएका थिएनौं । बच्चाहरूलाई हुलमुलमा ल्याउन डर नै थियो’, टुँडिखेलमा तीन बच्चा र परिवारसहित आएकी उनले भनिन्,‘यसपालि त सबै जनासँग भेटेरै ल्होछार मनाउन पाइयो । निकै रमाइलो नै भयो ।’
तामाङ जातिको उत्पत्ति, प्रकृति, दर्शन, सभ्यता, सामाजिक, सांस्कृतिक एवं धार्मिक जीवनमा ल्होछार पर्वको विशिष्ट स्थान रहेको छ । विज्ञहरूका अनुसार यो गणितमा आधारित ल्हो परम्परा तामाङ संस्कृतिकै अभिन्न अंग हो । ‘ल्हो’ को अर्थ साल, वर्ष, सम्वत्, ‘छार’को अर्थ नयाँ अर्थात् नयाँ वर्ष हो । विभिन्न पशुपंक्षीको नामबाट १२ वटा ल्हो हुन्छन् । १२ ‘ल्हो’ मध्ये प्रत्येक वर्ष एक– एक वटा ‘ल्हो’ फेरिन्छ । यही ‘ल्हो’ फेरिने दिनलाई ल्हो पोबा, ल्हो दोबा वा ल्होछार भनिन्छ । तामाङहरूले मान्ने ल्होछार चन्द्र पात्राको पहिलो महिनाको पहिलो दिन अर्थात् प्रत्येक माघ शुक्ल प्रतिपदादेखि सुरु हुन्छ । ल्होछार पर्व चीन, मङ्गोलिया, जापान, भियतनाम, ताइवानलगायतका मुलुकहरूमा चन्द्रमासमा आधारित नयाँ वर्षका रुपमा मनाइन्छ । नेपालमा भने ह्योल्मो, मनाङ्गे, हुम्ली तामाङ, डोल्पो तामाङ, थकाली, जिरेल, खाममगर तथा शेर्पा समुदायले यस पर्वलाई मनाउने गरेका छन् ।