सुनिता भट्टराई
जब एउटी नारी जन्मिन्छन् नि त्यो घरको भाग्य परिवर्तन हुन्छ । संस्कृतमा त्यसै भनेको होइन ‘स्त्री चरित्र पुरूषषय भाग्य’ भनेर । यो सही हो, उसको परिवर्तन लक्षण त जन्मिँदैदेखि सुरु भइसक्छ । उ महालक्ष्मी हो भनेर बुझे पो ? पुरुषप्रधान देशमा ‘नारी सर्वत्र पुज्यते’ । तर यो भनाइलाई पनि वेवास्ता गरिएको छ । सधैं कचकच, रातदिन त्यो घर अनि कसरी बन्छ ? त्यही बुहारीले सासु ससुरा, हेर्नुपर्ने, छोराछोरी, श्रीमान, दाजुभाई, भाउजु, बुहारी, भान्जाभान्जी, नन्द, आमाजु, इष्टमित्र, साथीभाइसँगको संगत त छुट्टी नै हाल्छ । घर, सरसफाई, चुल्होचौको, बच्चाको पढाइदेखि लिएर सासु ससुराले खाने दबाइसम्म ती बुहारीले ख्याल गरिदिनुपर्छ ।
श्रीमान र श्रीमती दुवै जना कार्यालयमा काम गरेर फर्कन्छन्, घर आउनेबित्तिकै श्रीमतीले भनें घर सम्हाल्नुपर्दछ तर श्रीमानलाई भनें त्यसतर्फ कुनै मतलव हुँदैन । बुहारी किचेन, बिहानको भाँडावर्तन, बच्चाको ड्रेस, होमवर्क, साँझको खाना, सासुससुरालाई तातो पानी, दूध, औषधि, अनि श्रीमानको मोजा धुने काममा व्यस्त हुन्छिन् त्यसैले चानचुने छैन उनको काम । हतारहतार छ महिलालाई जहिले पनि । तरकारी केलाउनेदेखि लिएर आलु प्याज, अदुवा लसुनसम्म कुटेर रातीलाई राख्नु पर्दछ महिलाले । घरमा जति काम महिलाले गर्छिन् त्यसरी नै पुरुषले पनि सहयोग गर्ने हो भनें घर चलाउन सजिलो हुन्छ तर अहिलेसम्म त्यसतर्फ कसैले ध्यान दिएको पाइँदैन । के घर भनेको नारीको मात्र जिम्मा हो र ? कहिलेकाहीँ यस्ता प्रश्न पनि गर्न मन लाग्छ । साँँच्चै भन्ने हो भनें महिलाले गर्भधारण गर्दा पनि आरामले सुत्न र खान पाउँदिनन् किनभनें उनको पुरानो काम गर्ने कोही मान्छे नै हुँदैन त्यसैले पनि महिला र बच्चालाई गर्भमै ठूलो असर पर्न सक्ने सम्भावना हुन्छ ।
घर हामी सबैको हो । नारी र पुरुष एकै रथका दुई पांग्रा भएकाले सँगै मिलेर रथ चलाउने भन्यो भनें एकातिर घर राम्ररी चल्छ भनें अर्कातिर महिलाले पनि स्वाभिमान भएको महसुस गर्न पाउने छिन् । सधैं घरधन्दा र चुल्होमा मात्र सीमित भएका महिलाले आफूले चाहेजस्तो प्रगति र उन्नति गर्न नसक्ने भएकाले समाज र घरपरिवारले यसबारे पुनर्विचार पो गर्ने हो कि ?