गलेश्वर । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेमा यसवर्ष बोटबाटै दुई करोडको सुन्तला बिक्री भएको छ ।
सुन्तला राम्रो फलेको र रोग, कीराको प्रकोप पनि नदेखिएकाले विगतका वर्षको तुलनामा यसवर्ष सुन्तला बिक्री गरेर दोब्बर बढी आम्दानी भएको किसानले बताएका छन् ।
दोसल्लेकी किसान मायादेवी पुनका अनुसार गत वर्ष सुन्तला बिक्री गरेर गाउँमा रू ७५ लाख भित्रिएको थियो । “यसवर्ष पाक्दै गरेको सुन्तला पोखरा, चितवन र काठमाडौंका व्यापारीले बगैँचाबाट नै प्रतिकिलो रू ९५ मा किनेका हुन्,” उनले भने ।
दोसल्ले व्यावसायिक सुन्तला जात किसान समूहका अध्यक्ष प्रेमबहादुर पाइजाले गतवर्ष ६२ हजार ५०० किलो सुन्तला निकासी हुँदा ७५ लाख गाउँमा भित्रिएको जानकारी दिए । “यसवर्ष २०० नयाँ बोटमा फल लागेकाले उत्पादन पनि राम्रो भएको छ । रू दुई करोडको हाराहारीमा सुन्तला बिक्री भएको छ,” अध्यक्ष पाइजाले भने ।
उनका अनुसार एक किसानले रू ५० हजारदेखि रू दुई लाख ३० हजारसम्मको सुन्तला बिक्री गरेका छन् । व्यापारीसँग समन्वय गरेर सुन्तला बजार पठाउन समूहले समन्वय गरेको थियो । (रासस)