काठमाडौं : नेकपा एमालेका पोलिटव्यूरो सदस्य देवेन्द्र दाहालले जारी गठबन्धनमा नेपाली कांग्रेस प्रवेश गर्ने सम्भावना नरहेको प्रष्ट्याएका छन्।
नेकपा एमालेको राष्ट्रियसभा संसदीय दलको नेतासमेत रहेका दाहालले अन्नपूर्ण पोष्टको कार्यक्रम ‘द न्यूज मेकर’ मा भूपाल लुइटेलसँग कुराकानी गर्दै गठबन्धनमा गडबडी सिर्जना गरेर एक महिनामै सरकार ढाल्छु भन्ने सपना नदेख्न उनले कांग्रेस नेतृत्वलाई सन्देश पनि दिएका छन्।
कांग्रेसले गैह्रसंसदीय चरित्र देखाएको बताउँदै दाहालले भने, ‘सरकारलाई विश्वासको मत दिएर प्रतिपक्ष नै हूँ भन्दै गरेको कांग्रेसले संवैधानिक र नैतिक धरातल गुमाइसकेको छ। राष्ट्रपति र सभामुखमा आँखा लगाएको देखिरहेका छौँ तर गठबन्धनलाई अझ बलियो बनाएर लैजाने विषयमा अध्यक्ष केपी ओली र प्रधानमन्त्री प्रचण्ड लागी पर्नुभएको छ। कांग्रेसले सरकार भत्काउने नदेखे हुन्छ।’
ओली र प्रचण्डबीच बुधबार साँझ भएको भेटवार्तामा मन्त्रीपरिषद् विस्तार र कांग्रेसँग प्रचण्डले मागेको विश्वासको मतबारे पनि कुराकानी भएको उनले बताए।
कांग्रेससँग विश्वासको मत मागेको ओलीको जिज्ञासामा प्रचण्डले मुलुकलाई स्थिरता दिनका लागि मात्रै मत लिएको तर कुनै लेनदेन नभएको जवाफ दिएको उनले बताए।
राष्ट्रपति पद लिने शर्तमा कांग्रेसले प्रचण्डलाई विश्वासको मत दिएको सूचना चुहिएपछि एमाले नेताहरू शसंकित भइरहेका छन्।
तर प्रधानमन्त्री प्रचण्डले त्यसलाई इन्कार गर्दै गठबन्धनलाई अझ बलियो बनाएर लैजाने प्रतिबद्धता जनाइरहेका छन्।