Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wordpress-seo domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/navaawaaj.com.np/public_html/wp-includes/functions.php on line 6114
योग : जिउने सर्वोत्कृष्ट कला - Nava Awaaj

योग : जिउने सर्वोत्कृष्ट कला

आठौं राष्ट्रिय योग दिवस

योग समाजमा चिरपरिचित शब्द बनिसकेको छ। सामान्य भाषामा योग भनेको जोड्नु नै हो। विभिन्न आसन, साधना, ध्यान आदिको माध्यमबाट शरीर र मनलाई जोड्ने प्रक्रिया नै योग हो। पूर्वीय दर्शनमा आदिम कालदेखि नै योग शब्दको प्रयोग हुँदै आएको पाइन्छ। हिन्दू धर्मशास्त्रमा आत्मदर्शन र समाधीदेखि कर्मक्षेत्रसम्ममा योगको प्रयोग भएको विश्वास गरिन्छ।

योगको सुरुआत आदिम कालदेखि नै भए तापनि आजको आधुनिक समाजमा यसलाई मानिसको स्वास्थ्यसँग जोडेर हेरिने गरिन्छ। यसै कारण जनमानसमा प्रिय बन्दै गएको छ योग। पहिले योग भनेको सन्यासीले मात्र गर्ने हो, घरगृहस्थीले गर्ने होइन भन्ने बुझाइ थियो। तर केही वर्षयता योग सन्यासीले मात्र होइन, गृहस्थीले पनि गर्नु जरुरी छ भन्ने चेतना बढ्दै गएको छ।

आधुनिक जमानामा अस्वस्थ्यकर भोजन र विशाली जीवनशैलीका कारण मानिस धेरै प्रकारका रोगबाट ग्रस्त भई अकालमै ज्यान जान थालेको छ। आधुनिक औषधि विज्ञानले मानिसमा भएका विभिन्न प्रकारका रोगहरू निको पार्न सक्छ। यसको विकल्पको रूपमा योग, आयुर्वेद, प्राकृतिक चिकित्सा आदिमा रोगी वा निरोगी दुवै वर्गको आकर्षण बढ्न थाल्यो। त्यसै कारण अब योग मठमन्दिर र सार्वजनिक स्थानबाट प्रत्येक घरसम्म पुगिसकेको छ। यसले विश्वब्यापी रूपमा प्रभाव जमाउँदै लगेको छ। योग गर्ने व्यक्तिहरूको पनि व्यापक रूपमा वृद्धि हुँदै गएको छ। जसले गर्दा योगको महत्त्व दिनप्रतिदिन बढ्दै गएको छ।

योग सम्पूर्ण विज्ञान र कला पनि हो। यसले शारीरिक रूपमा मात्र नभई मानिसलाई मानसिक रूपमा पनि स्वस्थ्य राख्न मद्दत पुर्‍याउँछ। साथै आध्यत्मिक रूपमा उच्च चेतनायुक्त भएर जीवन जिउने कलाको पनि विकास गर्छ। आजको युगमा हरेक समस्याको समाधान योगवाट पाउन सकिन्छ। विज्ञानको चरम विकासले गर्दा योग, अध्यात्म, आयुर्वेद, प्राकृतिक चिकित्साको क्षेत्र कमजोर भएजस्तो धेरैलाई लागे पनि वास्तवमा योग कहिले कमजोर हुँदैन। हिजोआज विकसित देशहरूमा पनि योग र अध्यात्मबिना शान्ति र आनन्द नपाइने महशुस गरेर त्यहाँका मानिसको योगप्रतिको झुकाव बढ्दो छ। त्यसैले त पश्चिमा देशहरूमा पनि योग, अध्यात्म, आयुर्वेदलगायतको अध्यापन हुन थालिसकेको छ।

भौतिक विकासले मानिसलाई धेरै सुविधा दियो। तर शान्ति र आनन्द दिन सकेन। त्यसैले हाम्रो देशमा प्राय :  निशुल्क पाइने योग विधालाई विकसित देशहरूमा महंगो शुल्क तिरेर सिक्दै गरेको सुन्न पाइन्छ। योगले शारीरिक, मानसिक र आत्मिक शुद्धिकरणका लागि महाउर्जाको काम गर्छ। त्यसैगरी सफल र सन्तुष्ट जीवन जिउन यसको भूमिका महत्त्वपूर्ण छ। योग यस्तो बिधा हो, जसले हामीभित्र सुसुप्त अवस्थामा रहेको ज्ञान, बुद्धि र भक्तिलाई उजागर गर्ने काम गर्छ।

योग एक जीवन दर्शन हो। अनुशासन हो र जीवन पद्धति पनि हो। योग एक सर्वश्रेष्ठ आध्यत्मिक विधा पनि हो। अर्कोतर्फ रोगमुक्त जीवन जिउने माध्यम हो योग। यसले स्वयं व्यक्तिको रूपान्तरण गर्ने कामसमेत गर्नेछ। योग एक चिकित्सा पद्धति पनि हो। यसले शारीरिक र मानसिक दुवै रोगबाट मुक्त गराउने काम गर्छ। योग व्यायाम र आध्यात्मिक चिन्तनको विषय मात्र होइन। स्वार्थ, अज्ञानता र अहंकारबाट माथि उठेर यसलाई सम्पूर्ण चिकित्सा विज्ञानको रूपमा हेर्नुपर्छ। भागवत गीतामा भगवान् कृष्णले अर्जुनलाई भन्नुभएको थियो  : 

योगस्थ  :  कुरु कर्माणि, सङ्ग त्यक्त्वा धनञ्जय 
सिद्धयासिद्धयो  :  समो भूत्वा समत्वं योग उच्यते
सफलता वा असफलताका सम्पूर्ण आशक्तिलाई त्याग गरी समभावमा रहेर कर्तब्य गर्न भगवान् कृष्णले अर्जुनलाई भन्नुभएको थियो। यही समभावलाई योग भनिन्छ। योगको अर्थ सदा चञ्चल रहने इन्द्रीयहरूलाई बसमा राखेर मनलाई परमात्मामा लिन गर्नु पनि हो। योगले सम्पूर्ण दु : ख–सुख, राम्रो–नराम्रो, सफलता–असफलता, जाडो–गर्मी आदिमा समभाव राख्छ र जीवन जिउने कला सिकाउँछ। 

त्यसैले योगले शारीरिक रूपमा पूर्ण स्वस्थ्य दिने काम गर्छ। साथै मानसिक रूपमा शान्ति, आनन्द, खुसी र स्वामित्व प्रदान गर्छ। यसरी अन्त्यमा आध्यात्मिक रूपमा उच्च चेतनायुक्त भएर जीवन सहज पार्ने कला योगले सिकाउँछ।